कैलालीकाे गोदावरी नगरपालिकाले चाडपर्वलाई लक्षित गर्दै सञ्चालन गरेको बजार अनुगमनका क्रममा दोस्रो दिन विभिन्न होटल तथा किराना पसलबाट अखाद्य तथा म्याद नाघेका खाद्य वस्तु बरामद गरेको छ।
अनुगमनका क्रममा होटलहरूबाट प्लास्टिकका चपिङ बोर्ड (कटिङ बोर्ड), म्याद सकिएका मसला, अखाद्य आइसक्रिम, अखाद्य रङ्ग मिसाइएको मासु लगायत विभिन्न खाद्य वस्तु बरामद गरिएको नगरपालिकाले जनाएको छ। बरामद गरिएका अखाद्य तथा म्याद नाघेका वस्तुहरू जफत गरी नष्ट गरिएको जनाइएको छ।
गोदावरी नगरपालिका आर्थिक विकास शाखाका प्रमुख समुन्द्र धामीले उपभोक्ताको हित संरक्षण गर्ने उद्देश्यले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि चाडपर्व लक्षित बजार अनुगमनलाई निरन्तरता दिइएको बताए। अनुगमनको दोस्रो दिन होटलहरूबाट बढी मात्रामा अखाद्य वस्तु फेला परेको बताउँदै धामीले प्लास्टिकका चपिङ बोर्ड, किराना पसलबाट म्याद नाघेका मसला, अखाद्य आइसक्रिम तथा अखाद्य रङ्ग लगायतका वस्तु बरामद गरिएको जानकारी दिए।
त्यस्तै केही पसलहरू दर्ता तथा नवीकरण नगरी सञ्चालन भइरहेको समेत पाइएको र त्यस्ता व्यवसायीलाई आवश्यक चेतावनी दिइएको उनले बताए।
चाडपर्वका समयमा हुने अवैध कारोबार, अखाद्य तथा म्याद नाघेका वस्तुको बिक्री–वितरण रोकथाम गर्ने उद्देश्यले बजार अनुगमनलाई तीव्रता दिइएको धामीको भनाइ छ। विगतको तुलनामा यस वर्षको अनुगमन प्रभावकारी बन्दै गएको र अखाद्य वस्तु पनि कम मात्रामा फेला परेको उनले बताए।
धामीले उपभोक्तालाई खाद्य सामग्री खरिद गर्दा उत्पादन मिति, उपभोग्य मिति, लेबल तथा गुणस्तरसँग सम्बन्धित विवरण जाँच गरेर मात्र खरिद गर्न आग्रह गरेका छन्।
अखाद्य वा म्याद नाघेका वस्तु बिक्री–वितरण भइरहेको पाइएमा नगरपालिका वा सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गर्दै उनले प्राप्त सूचनाका आधारमा तत्काल अनुगमन गरी आवश्यक कारबाही गरिने बताए।










