धनगढी । सुदूरपश्चिमको आर्थिक समृद्धि, पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै आयोजना हुन लागेको सुदूरपश्चिम महोत्सव–२०८३ को तयारी अन्तिम चरणमा पुगेको छ। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आगामी मंसिर २२ गतेदेखि पुस ५ गतेसम्म धनगढी उपमहानगरपालिका–१, पशुपति टोलमा महोत्सव सञ्चालन हुने भएको हो।
२०६३ सालदेखि निरन्तर आयोजना हुँदै आएको महोत्सवलाई यस वर्ष व्यापार र मनोरञ्जनमा मात्र सीमित नराखी प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको साझा अभियानका रूपमा अघि बढाउन लागिएको आयोजकले जनाएको छ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाका अनुसार १३ दिनसम्म सञ्चालन हुने महोत्सवबाट करिब ३ हजार ३०० युवाले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाउने अपेक्षा गरिएको छ। महोत्सव व्यवस्थापन तथा विभिन्न गतिविधिमा करिब २ हजार युवाले रोजगारी पाउनेछन् भने सहभागी व्यापारी तथा व्यवसायीमार्फत थप १ हजार ३०० जनाले रोजगारीको अवसर पाउने अनुमान गरिएको छ।
यस वर्ष स्थानीय उत्पादन र व्यवसायलाई प्रोत्साहन गर्न सुदूरपश्चिम प्रदेश तथा स्थानीय बजारका व्यवसायीलाई स्टल भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ। किसान, साना उद्यमी, उत्पादक तथा व्यवसायीका उत्पादनलाई प्राथमिकता दिँदै बजार विस्तारमा सहयोग पुर्याउने लक्ष्य राखिएको अध्यक्ष ओझाले बताए।
महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलेक्ट्रोनिक्स, होटल तथा सूचना प्रविधिलगायत क्षेत्रका करिब ५२४ वटा स्टल रहनेछन्। तीमध्ये करिब १५० वटा प्यागोडा शैलीका स्टल निर्माण गरिनेछन्। प्रवेशद्वारदेखि मुख्य गेटसम्म निर्माण गरिने आकर्षक छाता सडक पनि महोत्सवको विशेष आकर्षण रहनेछ। आयोजकले महोत्सव अवधिभर करिब १५ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरेको छ।
यसपटक कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिँदै बृहत् व्यावसायिक कृषि प्रदर्शनी आयोजना गरिनेछ। आधुनिक कृषि प्रविधि, तरकारी तथा कृषि उपजको प्रदर्शनी, उत्पादन प्रतिस्पर्धा र व्यावसायिक कृषिसम्बन्धी गतिविधिमार्फत स्थानीय किसानलाई नयाँ प्रविधि तथा बजारसँग जोड्ने तयारी गरिएको छ।
त्यस्तै, सुदूरपश्चिमको मौलिक देउडा, लोकगीत, लोकनृत्य, भाषा, भेषभूषा तथा सांस्कृतिक परम्परालाई विशेष स्थान दिइनेछ। स्थानीय प्रतिभासँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाएका कलाकारको प्रस्तुतिले महोत्सवलाई थप आकर्षक बनाउने आयोजकको भनाइ छ।
महोत्सवको अर्को महत्वपूर्ण आकर्षण ‘भिजन सुदूरपश्चिम’ बहस कार्यक्रम रहनेछ। उक्त कार्यक्रममा प्रदेशको आर्थिक विकास, पर्यटन, कृषि, उद्योग, लगानी, रोजगारी तथा पूर्वाधार विकासका सम्भावना र चुनौतीबारे विज्ञ, नीति निर्माता, उद्योगी व्यवसायी तथा सरोकारवालाबीच छलफल गरिनेछ।
यसैबीच अध्यक्ष ओझाले महोत्सव सञ्चालनका लागि हरेक वर्ष भाडामा जग्गा लिनुपर्ने बाध्यता अन्त्य गर्न प्रदेश सरकारसँग स्थायी महोत्सवस्थल र आवश्यक पूर्वाधार निर्माणको माग गरेका छन्। स्थायी महोत्सवस्थल निर्माण हुन सके व्यापार, पर्यटन, उद्योग तथा सांस्कृतिक गतिविधिलाई वर्षभरि निरन्तरता दिन सकिने उनको भनाइ छ।
महोत्सवलाई सुरक्षित तथा व्यवस्थित बनाउन मूल आयोजक समितिअन्तर्गत २५ वटा उपसमिति परिचालन गरिएको छ। महोत्सवस्थलमा सीसीटीभी निगरानी, सुरक्षा जनशक्ति, पार्किङ, स्वास्थ्य सेवा, खानेपानी, शौचालय तथा सरसफाइको व्यवस्थापन गरिनेछ। खाद्य परिकार बिक्री हुने स्टलमा स्वच्छता र खाद्य सुरक्षालाई समेत प्राथमिकता दिइने आयोजकले जनाएको छ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा कैलाली उद्योग वाणिज्य संघमा दर्ता भई सदस्यता नवीकरण गरेका सदस्यलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
अध्यक्ष ओझाले महोत्सवलाई स्थानीय उत्पादनको बजारीकरण, युवा उद्यमशीलताको विकास, महिला उद्यमशीलता प्रवर्द्धन, लगानी आकर्षण तथा पर्यटन विकासको साझा अभियानका रूपमा अघि बढाउन खोजिएको बताए। उनले तीनै तहका सरकार, निजी क्षेत्र, उद्योगी व्यवसायी, सञ्चारकर्मी, नागरिक समाज तथा आम सुदूरपश्चिमवासीलाई महोत्सव सफल बनाउन सहयोग र सहभागिताका लागि आग्रह गरेका छन्।
आयोजकका अनुसार महोत्सवको मुख्य उद्देश्य मनोरञ्जन प्रदान गर्नुका साथै स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, युवालाई रोजगारी र सीपको अवसर दिने तथा सुदूरपश्चिमको कला, संस्कृति र सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउनु रहेको छ।














