कैलालीको गोदावरी नगरपालिका वडा नं. ७ मा अवस्थित गौशालामा रहेका पशुपन्छीहरूको जीवन रक्षा, स्वास्थ्य संरक्षण तथा कुपोषण न्यूनीकरणका उद्देश्यले राष्ट्रिय पशुपन्छी सेवा अन्तर्गत राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालय, हरिहरभवन, ललितपुरले पशु आहारा सहयोग हस्तान्तरण गरेको छ।
अत्यधिक चिसो र आहारा अभावका कारण पशुहरूको स्वास्थ्यमा पर्न सक्ने नकारात्मक असरलाई ध्यानमा राख्दै गरिएको उक्त सहयोगलाई पशु कल्याण प्रवर्द्धन र सामुदायिक पशु व्यवस्थापनतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
कार्यक्रममा बोल्दै राष्ट्रिय पशुपन्छी सेवाका प्रतिनिधि तथा वरिष्ठ पशु सेवा विभागका डा. आभास पौडेलले चिसो मौसममा पशुहरू सबैभन्दा बढी जोखिममा रहने उल्लेख गर्दै समयमै गरिएको आहारा सहयोगले पशुहरूको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुग्ने बताउनुभयो। उहाँले पशु कल्याण केवल पशुको मात्र नभई मानव स्वास्थ्य र सामाजिक उत्तरदायित्वसँग पनि प्रत्यक्ष जोडिएको विषय भएको स्पष्ट गर्नुभयो।
गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले आफ्नो पालिकाभित्र रहेको गौशालालाई केन्द्र सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै स्थानीय सरकारले पनि पशु संरक्षण र व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताउनुभयो। “गौशाला केवल धार्मिक आस्थाको केन्द्र मात्र होइन, मानवीय संवेदनाको प्रतीक हो,” नगर प्रमुख भट्टले भन्नुभयो, “यसका दीर्घकालीन समाधानका लागि नगरपालिका निरन्तर सहकार्य गर्न तयार छ।”
बजार क्षेत्रमा माटो र प्लास्टिकसमेत खाँदा कमजोर बनेका छाडा गाईबस्तुलाई ठुलो जंगल क्षेत्रमा रोकथाम गर्दा चिसो मौसमका कारण दैनिकजसो गाईबस्तु मर्न थालेपछि केही व्यक्तिहरू आक्रोसित भई गौशालामाथि नै दोषारोपण गर्न थालेका छन्।
अहिले छाडा पशुचौपाया बजार तथा सडकमा धपाउँदा सडक दुर्घटनाको जोखिम बढ्नुका साथै बालीनालीमा समेत ठूलो क्षति पुगेको देखिएको छ। समस्या उत्पन्न हुँदा सबै पक्ष मिलेर समाधान खोज्नुपर्नेमा पालिकाको मात्र जिम्मेवारी ठानी छाडा पशु बजारमा छाडिँदा समस्या झन् जटिल बन्दै गएको सरोकारवालाहरूको भनाइ छ।
ठुलो लगानीमा निर्माण गरिएको गौशालाको क्षमताभन्दा बढी गाईबस्तु व्यवस्थापन गर्नुपर्दा कठिनाइ आएको जनाउँदै सम्बन्धित समितिले सबै पक्ष र स्थानीयवासीलाई सहयोगका लागि आग्रह गरेको छन ।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले संघीय र स्थानीय तहबीचको समन्वयले मात्र यस्ता सामाजिक तथा पशु कल्याणसम्बन्धी समस्या समाधान सम्भव हुने बताउँदै आगामी दिनमा व्यवस्थापन, पूर्वाधार र स्रोत परिचालनमा नगरपालिका थप सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो।
उक्त सहयोगले गौशालामा आश्रित पशुहरूको स्वास्थ्य सुधार हुनुका साथै समुदायमा पशुप्रति जिम्मेवारी र सहकार्यको भावना अझ मजबुत हुने अपेक्षा गरिएको छ।












