बाजुराको पूर्वोत्तरी क्षेत्रमा उब्जिएको स्याउ हालसम्म ठूलो बजारसम्म पुर्याउन नसक्दा किसानहरू चिन्तामा छन्। प्रायः किसानहरूको मुख्य आम्दानी स्याउ भएकाले सडक अवरुद्ध हुँदा हरेक वर्षजस्तो यस वर्ष पनि कृषकहरूलाई बजारीकरणको समस्या पिरोलिरहेको छ।
मार्तडी–कोल्टी सडक करिब चार महिना देखि अवरुद्ध बनेको छ। वर्षा सुरु भएसँगै पहिरो गएपछि सडक मर्मत हुन नसकेकाले कृषकहरू स्याउ कुहिने डरमा छन्। पाण्डुसैनकी स्याउ कृषक विउरा बोहराले भने, “यो वर्ष स्याउ राम्रो उत्पादन भएको भए पनि सडक बन्द हुँदा बारीमै कुहिने होइन कि भन्ने चिन्ता छ। सरकारले बाटो बनाइदिनुपर्छ, बजार देखाइदिनुपर्छ।” अर्का कृषक तोप्धिन थापाले आम्दानीको मुख्य स्रोत बजारसम्म नपुगेपछि परिवारको खर्च जोहो गर्न कठिनाइ भएको बताएका छन्।
यता, कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसि सहानीका अनुसार वैकल्पिक मार्ग प्रयोग गरी स्याउ ढुवानी प्रक्रिया सुरु भएको छ। बाजुरामा करिब १७० हेक्टर क्षेत्रमा वार्षिक करिब १ हजार २० मेट्रिक टन स्याउ उत्पादन हुने गर्दछ। केही दिनभित्र किसानहरूले बजारसम्म स्याउ पुर्याउन सक्ने अपेक्षा गरिएको छ।