अत्तरियाः सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा २८८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार सङ्क्रमितमध्ये कैलालीमा ६५, अछाममा ४१ र कञ्चनपुरमा ३२ जनामा डेङ्गी देखिएको छ।
त्यस्तै, हिमाली जिल्ला दार्चुलामा ४ र बाजुरामा १८ जना सङ्क्रमित भएका छन् भने डडेलधुरा, डोटी, बझाङ र बैतडीमा गरी ८८ जना सङ्क्रमित रहेको निर्देशनालयले जनाएको छ।
निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले असारदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमण बढ्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। उनीका अनुसार एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट मान्छेमा रोग सर्ने भएकाले घर परिसरमा पानी जम्न नदिनु अत्यन्त जरुरी छ। “गमला, साइकल वा गाडीको टायर, खाली ड्रम जस्ता पानी जम्नसक्ने भाँडा तथा खाल्डामा लामखुट्टे फुलाउँछन्, यसलाई नष्ट गर्नुपर्नेछ। यसले रोगको रोकथाममा सहयोग पुर्याउँछ,” उनले भने।
भेक्टर कन्ट्रोल अधिकृत जोशीले लामखुट्टे नष्ट गर्ने अभियान ‘लार्भा खोज र नष्ट गर’ सञ्चालन गर्न स्थानीय तहको सक्रिय सहभागिता आवश्यक रहेको बताए। यसवर्ष कतिपय पालिकाले यो अभियान सञ्चालन गरिरहेका छन्।
स्वास्थ्यकर्मीका अनुसार सरकारी अस्पतालमा डेङ्गीका बिरामीको निःशुल्क उपचार उपलब्ध छ। लामखुट्टेको टोकाइबाट बच्नु नै रोग रोकथामको प्रभावकारी उपाय भए पनि नागरिकमा चेतनाको अभाव देखिएको छ।












