कैलालीमा सिकलसेल एनिमिया रोगका बिरामीको संख्या वर्षेनी बढ्दै गएको छ। स्वास्थ्य कार्यालय कैलालीका अनुसार यो रोग मुख्यतः चौधरी थारु समुदायमा बढी देखिएको हो।
स्वास्थ्य कार्यालयका नसर्ने तथा सिकलसेल रोग स्रोत व्यक्ति मीनबहादुर धामीका अनुसार चालु आर्थिक वर्षको असार ९ गतेदेखि थारु बाहुल्य क्षेत्रमा सञ्चालित स्क्रिनिङ शिविरमा १,२६७ जनाको परीक्षणमा १४५ जनामा सिकलसेल वाहक (ट्रेट) पोजेटिभ देखिएको छ।
जिल्लाका आठ स्थानीय तहमा निःशुल्क परीक्षण गरिएको र नमुना रिपोर्ट कन्फर्म गर्नका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ।
धामीका अनुसार सिकलसेल बंशानुगत रोग हो। यदि दुवै अभिभावक वाहक छन् भने सन्तानमा रोग लाग्ने सम्भावना उच्च हुन्छ। रोग लागेपछि जीवनभर औषधि र रगतको रिफ्रेसमेन्ट आवश्यक पर्छ।
थकान, हाडजोर्नी दुखाइ, र रक्तअल्पता सिकलसेलका लक्षण हुन्, भने वाहकमा लक्षण देखिँदैन।
सरकारले सिकलसेल बिरामीका लागि १ लाख रुपैयाँसम्मको निःशुल्क उपचार सुविधा दिए पनि दीर्घकालीन उपचार खर्च र जीविकोपार्जन चुनौतीपूर्ण रहेको बिरामीहरूको भनाइ छ। उनीहरूले सीपमूलक तालिम र रोजगारीको अवसर आवश्यक रहेको बताएका छन्।
धामीले आगामी दिनमा थारु बाहुल्य अन्य पालिकामा पनि स्क्रिनिङ कार्यक्रम विस्तार गरिने जानकारी दिए। जनचेतना र परीक्षण बढेसँगै रोगी संख्या खुल्दै गएको हो।
















