कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा २० वर्ष मुनिका किशोरी आमा बन्ने दर वर्षेनि बढ्दै गएको छ। उमेर नपुग्दै विवाह गरी सुत्केरी हुने किशोरीको संख्या बढेसँगै उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर देखिन थालेको छ।
नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार चालु आर्थिक वर्षमा बर्थिङ सेन्टरमा सुत्केरी भएका ३०२ महिलामध्ये ३० जना २० वर्षमुनिका किशोरी थिए। गत वर्ष सो संख्या २८ थियो। यस्ता किशोरीको उमेर १६ देखि १९ वर्षको बीचमा रहेको पाइन्छ।
शुक्लाफाँटा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टका अनुसार २० वर्ष मुनिका किशोरीहरूमा गर्भधारण गर्दा शरीर पूर्णरूपमा परिपक्व नहुने भएकाले आमा र नवजात दुवैको स्वास्थ्य जोखिममा पर्ने गर्छ। “शरीरको पूर्ण विकास नहुँदा प्रसूति जटिल, कम तौलका शिशु जन्मिने, र आमामा संक्रमणको जोखिम उच्च हुने समस्या देखिन्छ,” भट्टले बताए।
उनले कानुनी रूपमा २० वर्षभन्दा कम उमेरमा विवाह गर्न नपाइने प्रावधान भए पनि व्यवहारमा त्यो कार्यान्वयनमा चुनौती रहेको बताए। शिक्षा, यौन स्वास्थ्यसम्बन्धी चेतना र सुरक्षित यौन व्यवहारबारे जानकारीको अभावका कारण किशोरीहरू अकस्मात गर्भवती हुने अवस्था सिर्जना हुने उनको भनाइ छ।
भट्टका अनुसार विद्यालय पढाइ छाडेर भागी विवाह गर्ने प्रवृत्तिका कारण किशोरी गर्भवती हुने दर उच्च छ। अधिकांश किशोरीले प्रेम सम्बन्धका कारण विवाह गरेका हुन् भने अभिभावकको दबाबमा विवाह गरिएको तथ्य भने कम देखिएको छ।
“शिक्षा, जनचेतना र स्वास्थ्य सेवा सुदृढ पार्न सकेमात्रै किशोरी गर्भधारण दर घटाउन सकिन्छ,” भट्टले जोड दिए, “महिला शिक्षाको पहुँच अभिवृद्धि गर्दै यौन शिक्षा तथा बालविवाहविरुद्धको कानुनी जानकारी समुदाय तहसम्म पु¥याउन आवश्यक छ।”












