अत्तरियाः सुदूरपश्चिम प्रदेशमा बुधबार र बिहीबार सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको महाकाली बेसिन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार कञ्चनपुर, कैलाली लगायत तराईका जिल्लामा सामान्य वर्षा हुनेछ भने पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।
महाकाली बेसिन कार्यालय, अत्तरियाका प्रमुख संजय कुमार शाहका अनुसार आज दिउँसो आंशिक वर्षा हुनेछ भने पहाडी जिल्लाहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ। विशेषगरी रातिको समयमा पहिरोको जोखिम रहेकाले पहाडी जिल्लाका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन कार्यालयले आग्रह गरेको छ।
साथै, बुधबार बिहानसम्म महाकाली नदीको जल सतह सामान्य अवस्थामा रहेको पनि प्रमुख शाहले जानकारी दिएका छन्। नदी र पहाडी क्षेत्रको जल तथा मौसम अवस्थाबारे निरन्तर निगरानी भइरहेको र आवश्यक परेमा समयमै सूचना प्रवाह गरिने उनले स्पष्ट पारे।
महाकाली बेसिन कार्यालयले वर्षा र सम्भावित प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारण, स्थानीय तह र सरोकारवालाहरूलाई सतर्क रहन आह्वान गरेको छ।












