नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा सत्तारुढ दलहरूसँग विवेकसाथ सहमति गरिएको बताएका छन्। झापाको दमकमा आयोजित पार्टीका पाँच मोर्चाको संयुक्त सम्मेलन उद्घाटनमा बोल्दै उनले संसद अवरोध गर्नु जनहित विपरीत हुने ठहरमा पार्टी पुगेको बताए।
प्रचण्डका अनुसार निजामती, शिक्षा र नागरिकता ऐनजस्ता संवेदनशील विधेयकहरूलाई रोकिराख्नु जनताका माग र मुद्दालाई थाँती राख्नु हो। “सरकार छानबिन गर्न बाध्य भएपछि हामी जनहितका लागि अघि बढ्यौं,” उनले भने, “केहीले यसलाई जमिन भासिएको जस्तो बनाउँदैछन्, तर हामीले विवेकसाथ निर्णय गरेका हौं।”
उनले प्रधानमन्त्री रहँदा ती विधेयकहरू संसदसम्म पुर्याएको र अहिले माओवादी केन्द्रले पारित गराउने जिम्मेवारी समेत लिएको स्पष्ट पारे।
त्यस्तै, शान्ति प्रक्रियाका बाँकी विषय टुंग्याउनुपर्ने बेला संसद अवरोध गर्नु ठीक नहुने तर्क उनले राखे। “यस्ता महत्वपूर्ण कानुनहरू पारित गर्न संसद चलाउनु आवश्यक छ,” प्रचण्डले जोड दिए।
उनको भनाइ अनुसार, माओवादी केन्द्रको निर्णय राष्ट्रिय हित, जनताको अपेक्षा र शान्ति प्रक्रियालाई पूर्णता दिने लक्ष्यमा आधारित छ।












