अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा नं. १ मा कुपोषणग्रस्त बालबालिकालाई पोषणयुक्त खाद्यान्न वितरण गरिएको छ।
गोदावरी नगरपालिकाले ५ वर्षमुनिका ७५४ बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा २२ जना मध्यम खालका कुपोषित भेटिएका थिए। याक नेपाल संस्थाको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा ती बालबालिकालाई प्रति बच्चा २५०० रुपैयाँ बराबरको पोषण सामग्री प्रदान गरिएको अत्तरिया शहरी स्वास्थ्य क्लिनिककी प्रमुख कुशुम शर्माले जानकारी दिइन्।
कार्यक्रममा वडा नं. १ का अध्यक्ष तथा नगर प्रवक्ता गोपाल दत्त भट्टले कुपोषण न्यूनीकरणमा सहयोग पुर्याउने संस्था तथा स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन्। साथै, उनले यस्तो कार्यक्रम पालिका भित्रका सबै वडामा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए।
वितरित सामग्रीमा १ क्रेट अण्डा, आधा किलो घ्यू, ३ प्याकेट सत्वम लिटो, साबुन, दाल लगायतका पोषणयुक्त खाद्य सामग्री रहेका थिए।
याक नेपालले यसअघि पनि स्थानीय स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविकाहरूलाई पोषणसम्बन्धी तालिम प्रदान गर्दै आएको छ। साथै, बालबालिकाको पोषण लेखाजोखा तथा कुपोषण निवारणका लागि समुदायस्तरमा निरन्तर काम गरिरहेको छ।















