अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको वार्षिक सैन्य सहायता यसै वर्षको अन्त्यदेखि रोक्ने घोषणा गरेका छन्। फक्स न्युजको कार्यक्रम ‘फक्स एन्ड फ्रेन्ड्स’ मा बोल्दै ट्रम्पले इजरायललाई दिइँदै आएको आर्थिक सहयोग बन्द गरिने बताएका हुन्।
ट्रम्पका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग सहायता रोक्ने विषयमा सहमति भएको छ। यद्यपि, अमेरिकाले इजरायललाई हतियार बिक्री भने निरन्तर जारी राख्नेछ। आवश्यक परेको अवस्थामा सहयोगसमेत गर्ने ट्रम्पले स्पष्ट पारेका छन्। तर, डिसेम्बरभित्रै सहायता रोक्ने प्रक्रिया कसरी अघि बढ्छ भन्नेबारे उनले विस्तृत जानकारी दिएका छैनन्।
अमेरिका र इजरायलबीचको हालको सैन्य सहायता सम्झौता सन् २०२८ को सेप्टेम्बरसम्म कायम छ। उक्त सम्झौताअनुसार अमेरिकाले इजरायललाई वार्षिक ३ अर्ब ८० करोड अमेरिकी डलर सैन्य सहायता उपलब्ध गराउँदै आएको छ।
गाजामा इजरायली सैन्य कारबाहीलाई लिएर अमेरिकाभित्र इजरायलप्रतिको समर्थन घट्दै गएको छ। क्विनिपियाक विश्वविद्यालयको सर्वेक्षणमा ४८ प्रतिशत अमेरिकी मतदाता र ६६ प्रतिशत डेमोक्रेटिक मतदाताले अमेरिकाले इजरायललाई आवश्यकताभन्दा बढी समर्थन गरिरहेको धारणा व्यक्त गरेका थिए।
अमेरिकी सहयोगको विषय रिपब्लिकन पार्टीभित्र समेत बहसमा रहँदै आएको छ। यस्तो अवस्थामा ट्रम्पको घोषणाले दशकौँ पुरानो अमेरिका–इजरायल सैन्य सम्बन्धमा नयाँ बहस सिर्जना गरेको छ।












