धनगढी: कैलाली जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने निर्णय गरिएको छ। बुधवार धनगढीमा बसेको जिल्ला खोप समन्वय समिति कैलालीको बैठकले यही असार ३० गते घोषणा कार्यक्रम गर्ने निर्णय गरेको हो।
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख तथा समिति सदस्य सचिव रमेश कुँवरका अनुसार असार २४ गतेसम्म जिल्लाका १३ वटै स्थानीय तहले वडादेखि पालिकासम्म पूर्ण खोप सुनिश्चित निर्देशिका अनुसार प्रक्रिया पूरा गरिसकेका छन्।
घोषणा समारोहमा खोप सेवामा उल्लेखनीय योगदान गरेका १३ वटै पालिकाबाट एक–एक जना गरी १३ जना स्वास्थ्यकर्मीलाई पुरस्कारसहित सम्मान गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठक जिल्ला समन्वय समिति कैलालीकी प्रमुख टीकाकुमारी चौधरी (भूल) को अध्यक्षतामा बसेको थियो।
प्रतिक्रिया जनाउनुहाेस्













