कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ खजुवामा पाटेबाघको आक्रोश दोहोरिन थालेपछि स्थानीय किसानमा डर त्रास बढेको छ। रातको समयमा गोठमै पसेर गाईभैंसीजस्ता घरपालुवा जनावर तानेर खाने घटनाले बस्तीको जनजीवन प्रभावित भएको छ।
गएराति मात्रै स्थानीय हेमा धामीको ब्याउने गाई बाघले गोठबाट तानेर झण्डै दुई सय मिटर पर लगेर खाएको पुष्टि भएको छ। यस्तै, केही दिनअघि देवकी पाण्डेयको लैनो भैँसी र कञ्जडो धामीको गाईसमेत बाघको सिकार बनेका थिए।
केही महिना अघिको घटनामा गाई दुहुँदै गरेकी मानमती धामीमाथि पनि बाघले आक्रमण गरेको थियो, जसबाट उनी घाइते भएकी थिइन्। स्थानीय जनप्रतिनिधि जयराज (जीवन) पाण्डेयका अनुसार साँझ नपुग्दै बाघ बस्तीमा देखिन थालेको छ, तर अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किएको पाटेबाघको गतिविधि निगरानी गर्न निकुञ्ज प्रशासनले चारवटा स्वचालित क्यामेरा जडान गरेको छ, जसमा वयस्क बाघ देखिएको पुष्टि भएको छ। नेपाली सेनाको टोली र वन रक्षकहरूको सक्रियतामा निगरानी कार्य भइरहे पनि समस्या उस्तै रहेको स्थानीय बताउँछन्।
स्थानीय शिवी लुहार भन्छन्, “बाघ त हरेक दिनजसो देखिन्छ, रातमा घरबाहिर निस्कनै डर लाग्ने भइसक्यो।” हात्ती लगायत अन्य जङ्गली जनावरहरूले बालीमा नोक्सानी पुर्याउँदै आएका छन् भने पाटेबाघले गोठमै बाँधिएका चौपाया खाइदिन थालेपछि अवस्था झनै जटिल बन्दै गएको छ।
स्थानीयवासीहरूले निकुञ्जसँग जोडिएका बस्तीहरूमा विद्युतीय मेसवायर जडान गर्न माग गरेका छन्, ताकि जङ्गली जनावरहरूको बस्ती प्रवेशमा रोक लगाउन सकियोस्। वडाध्यक्ष चक्रबहादुर खड्काले पनि निकुञ्ज छेउमै रहेका बस्तीहरूले हरेक वर्ष यस्तै जोखिम भोग्नुपर्ने बाध्यता रहेको बताए।
“विद्युतीय तार जडानका लागि हामीले पटकपटक माग गरिसकेका छौँ,” खड्काले भने, “प्रदेश सरकारबाट केही आश्वासन प्राप्त भएको छ, यसै आर्थिक वर्षभित्र केही क्षेत्रमा काम सुरु हुने अपेक्षा गरिएको छ।”
उनका अनुसार वडास्तरको बजेटले पर्याप्त नपुगेकाले प्रदेश सरकारसँग सहयोगको अपेक्षा गरिएको हो। स्थायी समाधानका लागि सशक्त सुरक्षा संरचना र सक्रिय निकुञ्ज प्रशासनको समन्वय अनिवार्य रहेको उनको धारणा छ।












