देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा अधिकांश स्थानमा मौसम बदली देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी भूभागमा सामान्य बदली, बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहेको छ।
कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइसकेको महाशाखाले जनाएको छ।
आजको दिनभर र राति मौसम पूर्वानुमान:
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
कर्णाली, सुदूरपश्चिम, र गण्डकी प्रदेशसहित पहाडी भूभागमा केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ।
सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ।
कोशी र मधेस प्रदेशका केही तराई भूभागमा हावाहुरी चल्न सक्ने सम्भावना पनि रहेको छ।
रातिको मौसम:
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
कोशी प्रदेशसहित देशका पहाडी क्षेत्रहरूमा हल्कादेखि मध्यम वर्षा र चट्याङको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
सतर्कता अपनाउन अनुरोध
भारी वर्षाका कारण नदीहरूको जल सतह बढ्न सक्ने, बाढी, पहिरो, भूक्षय जस्ता विपद् आउन सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसम महाशाखाले आग्रह गरेको छ।












