धनगढी उपमहानगरपालिका–८ स्थित धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयले विज्ञान शिक्षाको प्रवर्द्धनका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। बुधबार विद्यालयको आयोजनामा बसेरा होटल, धनगढीमा एक दिने अन्तरक्रिया सम्पन्न भएको हो।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्रराज जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो भने धनगढी उपमहानगरपालिकाकी उप–प्रमुख कन्दकला कुमारी राना प्रमुख अतिथि रहनुभएको थियो।
अन्तरक्रिया कार्यक्रममा उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख घुम्न सिंह बडायक, उपमहानगरभित्रका १५ वटै वडाका वडाध्यक्षहरू, शिक्षासँग सम्बन्धित अधिकारीहरू तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा कक्षा ११ र १२ मा सञ्चालित विज्ञान शिक्षालाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा सहभागीहरूसँग सल्लाह र सुझाव संकलन गरिएको थियो।
विद्यालयका प्रधानाध्यापक लक्ष्मणदत्त भट्टले स्वागत मन्तव्य राख्दै विद्यालयको वर्तमान अवस्था, उपलब्धि तथा विज्ञान कार्यक्रमबारे जानकारी गराउनुभयो।
कार्यक्रम सञ्चालन विद्यालयका प्राविधिक धार संयोजक इन्जिनियर लोकराज भट्टले गर्नुभएको थियो।
यस कार्यक्रमले विद्यालयको विज्ञान शिक्षालाई थप सुदृढ गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।












