कञ्चनपुरः कञ्चनपुर जिल्लाका नौवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम र बजेट पारित गरेका छन्। सबै पालिकाले विगतका कार्यक्रमलाई निरन्तरता दिँदै शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार क्षेत्रमा प्राथमिकता दिएका छन्। जिल्लाका नौ वटै पालिकाको समग्र बजेट ७ अर्ब रुपैयाँ नाघेको छ।
सबैभन्दा पुरानो भीमदत्त नगरपालिकाले मंगलबार सम्पन्न १७औँ नगरसभाबाट १ अर्ब ९३ करोड रुपैयाँको बजेट पारित गरेको छ। नगरपालिकाले छोरी–बुहारीलाई उच्च शिक्षामा छात्रवृत्ति प्रदान गर्ने योजना ल्याएको छ भने शिक्षा, स्वास्थ्य र कृषि मुख्य प्राथमिकतामा परेको छ।
यसैगरी, कृष्णपुर नगरपालिकाले १ अर्ब १ करोड रुपैयाँ, वेदकोट नगरपालिकाले ९८ करोड ६५ लाख रुपैयाँ बराबरको बजेट पारित गरेका छन्। यी नगरपालिकाहरूले सामाजिक सेवा क्षेत्रलाई प्राथमिकतामा राखेका छन्।
शुक्लाफाँटा नगरपालिकाले ९२ करोड र पुनर्वास नगरपालिकाले ७५ करोड ७७ लाख रुपैयाँ बराबरको बजेट पारित गरेका छन्। बेलडाँडी गाउँपालिकाले ५४ करोड ५० लाख रुपैयाँको बजेट पारित गर्दै दलदलमा फसेको करिब डेढ हजार बिघा खेतीयोग्य जमिनको पुनःउत्पादनका लागि विशेष योजना अघि सारेको छ।
यसअघि आइतबार सम्पन्न नगरसभामार्फत बेलौरी र दोधाराचाँदनी नगरपालिकाले क्रमशः ७६ करोड रुपैयाँ बराबरको बजेट पारित गरेका थिए। बाढी र डुबानको जोखिममा रहेका यी पालिकाहरूले विपद् व्यवस्थापन तथा पूर्वतयारीलाई बजेटको मुख्य प्राथमिकता दिएका छन्।
लालझाडी गाउँपालिकाले शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गरेसँगै सोमबार ४३ करोड ६५ लाख रुपैयाँको बजेट पारित गरेको छ।














