कञ्चनपुर: वेदकोट नगरपालिकाको १७औं नगर अधिवेशन मंगलबार नगर प्रमुख भोजराज बोहराको अध्यक्षतामा सम्पन्न भएको छ। अधिवेशनमा नगर उपप्रमुख तुलसी जोशी, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा समितिका पदाधिकारी तथा शाखा प्रमुखहरूको उल्लेखनीय उपस्थिति थियो।
अधिवेशनले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ९८ करोड ६५ लाख २१ हजार ९५६ रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।
बजेटमार्फत नगरपालिकाले विभिन्न नयाँ कार्यक्रम र योजनाहरू अघि सारेको छ। तीमध्ये प्रमुख योजनाहरू यस्ता छन्:
– एक विद्यालय, एक नर्स कार्यक्रम लागू
– कोल्ड स्टोर सञ्चालनको तयारी
– करार तथा ज्यालादारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा समावेश
– नगर प्रहरीको व्यवस्था
– आयुर्वेदिक स्वास्थ्य केन्द्र स्थापना
– दैजीमा आँखा उपचार केन्द्र स्थापना
– दैनिक ज्यालादारी कर्मचारीलाई मासिक ज्यालादारीमा रूपान्तरण
नगर प्रमुख बोहराले नगर विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको भन्दै जनताको सेवा प्रवाहमा थप उत्तरदायी र पारदर्शी हुने प्रतिबद्धता व्यक्त गरे।














