गोदावरी नगरपालिकाले अत्तरिया–धनगढी ६ लेन सडकको डिभाइडरमा तारजाली जडानको कार्य तीव्र बनाएको छ। यसै क्रममा मंगलबार नगरप्रमुख विरेन्द्र भट्टको नेतृत्वमा नगरप्रवक्ता गोपाल दत्त भट्ट, कार्यपालिका सदस्य चन्द्रा भुल लगायतको टोलीले अनुगमन गरेको छ।

अनुगमनका क्रममा केही प्राविधिक त्रुटिहरू फेला परेका छन्। नगरप्रमुख भट्टका अनुसार तारजालीको लेबल नमिलेको पाइएको छ, जसलाई सुधार गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइएको छ। साथै, पैदलयात्रीहरूको सहजताका लागि आवश्यक स्थानहरूमा पैदलमार्गको व्यवस्था गर्न सुझाव दिइएको छ।

नगरपालिकाले चालु आर्थिक वर्षभित्रै तारजाली जडानसँगै वृक्षारोपण तथा लाइट जडान कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ। नगरप्रमुख भट्टले भने, “वृक्षारोपणको सुरक्षाका लागि ट्री गार्डको व्यवस्था गरिए पनि पर्याप्त नभएकाले तारजाली आवश्यक देखिएको हो। वृक्षारोपणपछि हरियाली संरक्षणका लागि आवश्यक सबै उपाय अपनाइनेछ।”

नगरपालिकाले अत्तरिया–धनगढी ६ लेन सडकको ५ किलोमिटर डिभाइडर क्षेत्रमा तारजाली लगाउन अत्तरियाकै सुयल कन्स्ट्रक्सन प्रा.लि. सँग ८० लाख २३ हजार ४७४ रुपैयाँ को ठेक्का सम्झौता गरेको छ।
गोदावरी नगरपालिकाको यो प्रयासले सडक सौन्दर्य, हरियाली संरक्षण तथा यात्रुहरूको सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।











