अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा नं. १२ को गणेशपुर टोलका लागि सिचाँई कुलो निर्माण हुने भएको छ। स्थानियको माग अनुसार गोदावरी नगरपालिका नगरप्रमुख बिरेन्द्र भट्ट सहितको टोलीद्वारा टुडेला खोलामा बुधबार स्थलगत अनुगमन गरेको छ ।
गणेशपुर बस्तीका लागि सिचाई कुलो निर्माणको आवश्यकता औंल्याउँदै आगामी आर्थिक वर्षमा पाइप तथा अन्य सामग्रीमार्फत योजना अघि बढाउने भएका छन । स्थानियजनता एव् वडा अध्यक्षको माग अनुसार नगर प्रमुख भट्टले यो योजना कार्यान्वयनमा आफू विशेष चासोका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
ओलानी क्षेत्रको गणेशपुर टोल, जसलाई गोदावरी नगरपालिकाको विकट बस्तीका रूपमा चिनिन्छ, विगतमा सिचाई कुलोको अभावले ठूलो समस्या भोग्दै आएको थियो। खोलामा पानीको मात्रा हिउँदको समयमा घट्ने हुँदा स्थानीय बासिन्दाले प्लास्टिकको सहायताले अस्थायी कुलो बनाएर खेतबारीसम्म पानी पुर्याउने गरेका थिए। स्थानीय भीमबहादुर कामीका अनुसार यो समस्या दीर्घकालीन समाधानको माग गर्दै आफूले स्थानिय सरकार सँग गुहार्दै आएको बताएका छन ।
नगर प्रमुखको टोलीले स्थलगत अनुगमनपछि सिचाई समस्या समाधानका लागि विशेष योजना अघि सार्ने प्रतिवद्धता जनाएको छ। केही दिनमै स्थानिय निकायले प्राबिधिकलाई खटाएर सर्भे गरी लागत इस्टिमेट तयार गरेर स्थानिय अथवा प्रदेश सरकारको समेत सहकार्यमा यस ठाउँका लागि योजना अघि बढाउने तयारी गर्ने नगर प्रमुख भट्टले बताएकाछन ।
नगर प्रमुख बिरेन्द्र भट्टले बिगतमा सिचाई कुलो बन्न नसकेकाले स्थानीयले झेल्नुपरेका कठिनाइप्रति आफू संवेदनशील रहेको बताउँदै अब भने यस क्षेत्रका लागि योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विश्वास दिलाएका छन्।
२०६१ सालमा उर्लिएको टुलेडा खोलाले ओलानी बस्तीमा पसेपछि तत्कालीन पूर्वराज्यमन्त्री दीर्घराज भाटको पहलमा खोलाको पानी बस्तीमा पस्न नदिन करोडौंको योजना अघि बढाइएको थियो। तर सिचाई कुलो निर्माण भने हुन सकेको थिएन। स्थानीयले यसपटक नगर प्रमुखको नेतृत्वमा सुरु भएको प्रयासले दीर्घकालीन समाधान ल्याउने विश्वास गरेका छन्
समाजसेवी नन्दराज भट्टका अनुसार, यस ठाउँमा प्लास्टिकको कुलो प्रयोग गरेर पानी आपूर्ति गर्दै आएको देख्दा कार्ल मार्क्सको भनाइ “आवश्यकता नै आविष्कारको जननी हो” झल्किएको छ। उनले स्थानीयहरूले पानीको आवश्यकतालाई परिपूर्ति गर्न प्लास्टिकको प्रयोग गरेको देख्दा अनौठो लागेको बताएका छन्। साथै, यस ठाउँमा योजना अगाडि बढाउन स्थानीय सरकार प्रमुखसँग आफैँ स्थलगत अनुगमनका लागि आएको बताएका छन्।











