धनगढीमा जारी सुदूरपश्चिम महोत्सव शनिबार (आज) आफ्नो छैटौँ दिनमा प्रवेश गरेको छ। महोत्सवको मुख्य आकर्षणका रूपमा लोकप्रिय गायक प्रकाश सपुतलाई प्रस्तुत गर्ने तयारी गरिएको आयोजकले जानकारी दिएका छन्। कैलाली उद्योग वाणिज्य संघका सचिव तथा सांस्कृतिक संयोजक प्रकाश चन्दका अनुसार, सपुतसँगै शान्ति श्री परियार, हेमन्ता भट्टराई, भुवन दाहाल, बिष्णु भट्टलगायतका कलाकारले आफ्ना उत्कृष्ट प्रस्तुतिहरू देखाउनेछन्।
संगीतसँगै कार्यक्रमलाई अझै ग्ल्यामरस बनाउन चर्चित मोडल पुष्पा कडैलाको विशेष प्रस्तुति पनि रहने छ। महोत्सव मंसिर २२ गतेदेखि सुरु भई पुस २ गतेसम्म सञ्चालन हुँदैछ। यस महोत्सवको मुख्य उद्देश्य स्थानीय उत्पादन, पर्यटन, संस्कृति र मनोरञ्जनको प्रवर्द्धन गर्नु रहेको छ।
दैनिक हजारौं दर्शकले कार्यक्रममा सहभागिता जनाइरहेका छन् भने शनिबार अझै बढी भीडको अपेक्षा गरिएको छ। आयोजकले महोत्सवको भव्यता र सांस्कृतिक विविधतालाई समेट्दै सहभागीहरूलाई स्मरणीय अनुभव दिलाउने प्रयास गरिरहेका छन्। संगीत, नृत्य, कला र ग्ल्यामरस प्रस्तुति समेटिएको महोत्सवले सुदूरपश्चिम क्षेत्रको सांस्कृतिक पहिचान विश्वसामु प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गरिरहेको छ।












