बर्दगोरिया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब दुई करोड ९१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार सम्पन्न १६औँ गाउँसभा मार्फत उपाध्यक्ष गणेशराज गिरी (लालदीप) ले बजेट प्रस्तुत गर्नुभएको हो।
बजेटमा ३४ करोड ३९ लाख रुपैयाँ चालु खर्चका लागि, ४१ करोड ५२ लाख पुँजीगत खर्चका लागि तथा २७ करोड सामाजिक सुरक्षा कार्यक्रमका लागि विनियोजन गरिएको छ।
गाउँपालिकाले ३ करोड ६९ लाखभन्दा बढी आन्तरिक आम्दानी गर्ने अनुमान गरेको छ। त्यस्तै, राजस्व बाँडफाँडबाट १० करोड ७८ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। संघीय सरकारबाट ५२ करोड २७ लाख र प्रदेश सरकारबाट ५ करोड ७० लाख रुपैयाँ गाउँपालिकाले प्राप्त गरेको छ।
गत वर्षको जिम्मेवारी सरेको ३ करोड ४५ लाख रुपैयाँ समावेश गरिएको छ भने सामाजिक सुरक्षामार्फत २७ करोडको आम्दानी हुने उल्लेख गरिएको छ।
बजेटले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र सामाजिक सुरक्षामा प्राथमिकता दिने जनाइएको छ।










