विज्ञापन

अत्तरियाको लामीतालको विकास र पर्यटन प्रर्वद्धनका लागि गोदावरी नगरपालिकाले काम अगाडी थाल्दै

विज्ञापन
Image
विज्ञापन

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका वडा नं. २ मा रहेको लामीतालको सौन्दर्य अभिवृद्धि गर्दै प्रमुख पर्यटकीय गन्तव्य बनाउन नगरपालिकाले ठोस कदम चाल्न थालेको छ। करिब ७ हेक्टर क्षेत्रफलमा फैलिएको यो ताललाई आकर्षक बनाउँदै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने योजना अघि बढाइएको छ।

सुदूरपश्चिम प्रदेशकै मुटु अत्तरिया चोक बाट पूर्वतर्फ २ सय मिटरको दूरीमा अवस्थित छ। केही समयअघि यहाँ पर्यटकहरूको उल्लेखनीय चहलपहल थियो। तर, उचित व्यवस्थापनको अभावमा तालको महत्त्व घट्दै गइरहेको देखिन्छ। यसै कारण, नगरपालिकाले तालको पुनरुत्थानका लागि ठोस योजना अघि बढाइरहेको छ।

लामीतालको विकास र पर्यटन प्रवर्द्धनका लागि नगर प्रमुख बिरेन्द्र भट्टले यसअघि नै जिल्ला वन कार्यालयसँग समन्वय गरी बनेको विस्तृत परियोजना प्रतिवेदन (DPR) अनुसार सहयोग गर्न प्रस्ताव पेश गरिसकेका छन्। सोही अनुरूप आज पालिका र जिल्ला वन कार्यालयका प्राविधिक टोलीद्वारा स्थलगत अनुगमन गरिएको थियो।

सहायक वन अधिकृत तथा प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन ईकाईका योजना अधिकृत दान बहादुर थापाका अनुसार पर्याप्त बजेट अभावका कारण सबै कार्य एकै पटक अघि बढाउन कठिन छ। पहिलो चरणमा तालामा रहेको माटो हटाएर इबोटिङ्ग तथा अन्य क्रियाकलाप अघि बढाउन सकिने बताएका छन्। डिपिआर अध्ययनपछि क्रमागत रुपमा कार्य गर्दै लामीतालको पर्यटन प्रवर्द्धनका लागि आफूहरू प्रतिबद्ध रहने उल्लेख गरेका छन्।

गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टका अनुसार पालिकाले प्रमुख पर्यटन प्रवर्द्धन केन्द्रको रूपमा अत्तरिया बजार नजिकको ठूलो ताललाई विकास गर्न ध्यान दिइरहेको छ। अत्तरिया बजार आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले ताल क्षेत्रमा २-३ घण्टा समय बिताउने मात्र होइन, चारैतिर हरियाली जंगल, चराचुरुङ्गीको चिरबिर आवाज, र प्राकृतिक शान्त वातावरणका कारण आफूलाई सहरी क्षेत्रबाट निकै टाढा पुगेको अनुभव गर्नेछन्।

पालिकाको स्रोत-साधनले मात्र पर्याप्त नभएकाले नगरपालिकाले जिल्ला, प्रदेश हुँदै केन्द्र सरकारसम्म तालको विस्तृत परियोजना प्रतिवेदन (DPR) लिएर बजेट माग गरिरहेको नगर प्रमुख भट्टले बताएका छन्।

अत्तरिया बजार नजिकै भएकाले स्थानिय बासिन्दाले यो क्षेत्रलाई बिहान-बेलुकीको हिँडडुल (Morning Walk, Evening Walk) गर्ने स्थानको रूपमा समेत उपयोग गरिरहेका छन्। साथै, तालमा डुङ्गा सवारी (बोटिङ) तथा विद्युतीय डुङ्गा (इ-बोटिङ) सञ्चालन गरेर थप पर्यटक आकर्षण बढाउने योजनामा नगरपालिका लागेको छ।

अत्तरियाबाट सबैभन्दा नजिक र पर्यटकिय रुपमा पनि आर्कषणको केन्द्र रहेको लामीतालको व्यवस्थापन र संरक्षणका लागि गोदावरी नगरपालिकाका नगर प्रमुख अगाडी बढेका छन । क्रमिक रुपमा काम गर्दै लैजाने र पालिकाको पर्यटन र अन्य आम्दानीको स्रोत बन्ने कुरामा दुई मत छैन ।

अघिल्ला वर्षहरूमा अत्तरिया उद्योग वाणिज्य संघले लामीताल परिसरमै महोत्सवको आयोजना गर्दा तालको प्रचार-प्रसार थप बढेको थियो। संघले लामीतालको सरसफाइ गरी महोत्सवमा आएका दर्शकहरूको मनोरञ्जनका लागि डुङ्गाको समेत व्यवस्था गर्ने गर्थ्यो। महोत्सवका दौरान लामीताल अवलोकन गर्ने पर्यटकहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको थियो।

यदि लामीताललाई व्यवस्थित रूपमा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकियो भने नगरको राजस्व वृद्धि हुनुका साथै आम्दानीका नयाँ स्रोतहरू सिर्जना हुनेछन्। यसले नगरवासीले अपेक्षा गरेका विभिन्न विकास निर्माणका योजनाहरूमा लगानी गर्ने अवसर उपलब्ध गराउनेछ।

लामीतालको दीर्घकालीन विकास र पर्यटन प्रवर्द्धनका लागि नगरपालिका निश्चित योजना बनाएर अगाडि बढ्नुपर्छ। साथै, आवश्यक पर्ने बाह्य व्यवस्थापनका पक्षमा सहयोग पुर्‍याउन हामी सबैले अग्रसरता देखाउनुपर्छ।

नगर प्रमुख भट्टले लामीतालको विकास सँगै समग्र अत्तरियाको पूर्वाधार सुधारमा समेत प्राथमिकता दिइरहेका छन्। उनले नगरपालिकाको मुख्य सडकहरूको स्तरोन्नति, सफाइ अभियान, सडक बत्ति व्यवस्थापन तथा बजार क्षेत्रको ब्यवस्थित विकासमा योजनाहरू अघि बढाइरहेका छन्। अत्तरिया बजारको यातायात व्यवस्थापन सुधार, हरियाली प्रवर्द्धन, र खुला स्थानहरूको संरक्षणमा विशेष ध्यान दिइएको छ।

नगरप्रमुख भट्टले नगरको समग्र पर्यटन, शिक्षा, स्वास्थ्य, तथा आर्थिक प्रवर्द्धनका लागि समेत सक्रिय पहल गरिरहेका छन्। उनले नगरपालिकाका बिभिन्न क्षेत्रहरूमा नयाँ विद्यालय भवनहरूको निर्माण, डिजिटल शिक्षा प्रवर्द्धन, तथा स्थानीय युवालाई स्वरोजगारमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छन्। त्यस्तै, नगरमा स्वच्छ खानेपानीको आपूर्ति सुधार, फोहोर व्यवस्थापन प्रणालीको आधुनिकीकरण समेत नयाँ योजनाहरू ल्याउने तयारी भइरहेको छ।

लामीताल अत्तरियाका आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्छ। तालमा पुग्ने वित्तिकै हरियाली जंगल, चिरबिर गर्ने चराचुरुङ्गी र स्वच्छ वातावरणले पर्यटकलाई शहरी क्षेत्रबाट टाढा पुगेको अनुभूति गराउँछ। नगरपालिकाले लामीतालमा ढुङ्गा सयर र इबोटिङको व्यवस्था गर्दै थप पर्यटक आकर्षण गर्नेतर्फ लागेको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन