नेपाल बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ आज साँझ मैदानमा उत्रँदैछ ।
इतिहासमा नै बंगलादेशसँग नेपाल एक पटक मात्र पराजित भएको छ। त्यो पनि सन् २०२२ को साफ च्याम्पियनसिपको फाइनलमा। यो गत संस्करणको फाइनलको रिप्ले पनि हो।
नेपाल सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा चार–दुई गोलले पराजित गर्दै छैटौं पटक साफको फाइनल खेल्न लागेको हो। यसअघि पाँच पटक उपविजेतामा रोकिएको नेपालले यो पटक भने घरेलु समर्थक र मैदानको फाइदा उठाउँदै च्याम्पियन बन्ने लक्ष्यमा छ।
सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा भारत पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बङ्गलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ ।
पछिल्लो साफबाट राष्ट्रिय टिममा पुनरागमन गरेकी रेखा पौडेलसँगै दीपा शाही र हिराकुमारी भुजेल फाइनलमा नहुनु नेपालका घातक हुन सक्छ। जारी साफमा ७ गोल गरेकी रेखाले भारतविरुद्धको खेलमा रातो कार्ड पाएपछि फाइनल गुमाएकी हुन्।












