विज्ञापन

जनहित महाकाली सामुदायिक वनको आयोजनामा खल्लागोठ मा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न

विज्ञापन
Image
विज्ञापन

कञ्चनपुर: “रुख रोपौं, हरियाली छरौं, वन जोगाऔं, प्रकृति बचाऔं, बगर बचाऔं, नदी सजाऔं, शीतल छहारी सबैले बनाऔं” भन्ने मूल नाराका साथ जनहित महाकाली सामुदायिक वन उपभोक्ता समूह, कृष्णपुर–२ खल्लागोठ को आयोजनामा आइतबार मछेली नदी बगर क्षेत्रमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम अन्तर्गत मछेली नदी किनारको सार्वजनिक चौर क्षेत्रमा तारबार गरी हजारौं संख्यामा विभिन्न प्रजातिका बिरुवा रोपिएको हो। नदी किनारको संरक्षण, हरित वातावरण विस्तार, जैविक विविधताको संरक्षण तथा बाढी–कटान न्यूनीकरण गर्ने उद्देश्यले वृक्षारोपण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम कृष्णपुर नगरपालिका, डिभिजन वन कार्यालय कञ्चनपुर, नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) कञ्चनपुर, मर्सीकोर, क्लाइमेट रेजिलियन्स एलायन्स, कृष्णपुर–२ वडा कार्यालय, सव डिभिजन वन कार्यालय वाणी, मछेली नदी सामुदायिक विपद् व्यवस्थापन समिति, सृजनशील युवा क्लब तथा NNSWA/CRC परियोजना को समन्वय र सहकार्यमा सञ्चालन गरिएको थियो।

कार्यक्रमका सभाध्यक्ष तथा जनहित महाकाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुबान बहादुर डगौरा (चौधरी) ले वातावरण संरक्षण आजको सबैभन्दा ठूलो आवश्यकता भएको उल्लेख गर्दै सामुदायिक वनले केवल वन संरक्षण मात्र नभई नदी, बगर र सार्वजनिक सम्पत्तिको संरक्षणमा समेत सक्रिय भूमिका खेलिरहेको बताए। उनले रोपिएका बिरुवाको नियमित संरक्षण र हेरचाहमा स्थानीय समुदायको सहभागिता अपरिहार्य रहेको बताउँदै, “आज रोपिएको एउटा बिरुवा भविष्यका पुस्ताका लागि स्वच्छ हावा, हरियाली र सुरक्षित वातावरणको आधार बन्नेछ। त्यसैले बिरुवा रोप्नु मात्र होइन, हुर्काउनु पनि हाम्रो साझा जिम्मेवारी हो,” भन्ने धारणा व्यक्त गरे।

प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा ले वातावरण संरक्षण र जलवायु परिवर्तनका चुनौती सामना गर्न वृक्षारोपण अभियान प्रभावकारी माध्यम भएको उल्लेख गर्दै यस्ता अभियानमा नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश वन निर्देशक हेमराज विष्ट ले वन, नदी र जैविक विविधताको संरक्षणमा स्थानीय समुदायको सक्रिय सहभागिता प्रशंसनीय रहेको बताए। उनले सामुदायिक वनमार्फत सञ्चालन हुने संरक्षणका गतिविधिले दीर्घकालीन रूपमा प्राकृतिक स्रोतहरूको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।


कार्यक्रममा डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मीराज जोशी, कृष्णपुर–२ का वडा अध्यक्ष अर्जुन सिंह साउद, सव डिभिजन वन कार्यालय वाणीका प्रमुख वरिष्ठ वन अधिकृत भरतप्रसाद शाह, अस्थायी प्रहरी पोस्ट वाणीका प्रमुख प्रहरी सहायक निरीक्षक देवराम पार्की, NNSWA का परियोजना संयोजक गोविन्द नारायण उपाध्याय, फिल्ड सहायक अधिकृत रिमा खनाल, जय फुलवारी कृषि सहकारीका प्रबन्धक शोभा खुना, मछेली नदी सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर महता, जनहित महाकाली सामुदायिक वनका सचिव दीपकबहादुर साउद, स्थानीय उपभोक्ता, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

आयोजकका अनुसार उक्त क्षेत्रमा जनहित महाकाली सामुदायिक वन, मछेली CDMC, NNSWA, मर्सीकोर, डिभिजन वन कार्यालय र कृष्णपुर नगरपालिका को साझेदारीमा जैविक तटबन्ध निर्माण, सार्वजनिक क्षेत्रको तारजाली व्यवस्थापन तथा वृक्षारोपण कार्यक्रम सञ्चालन हुँदै आएको छ। यस्ता गतिविधिले नदी कटान नियन्त्रण, हरियाली प्रवर्द्धन, जैविक विविधताको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन