कैलालीको चुरे गाउँपालिकामा बहुप्रतिक्षित “चुरे आइडल” कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। ई एल नेपाल प्रालिको आयोजना तथा गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित कार्यक्रमले स्थानीय प्रतिभालाई उजागर गर्ने महत्वपूर्ण मञ्च प्रदान गरेको छ।
कार्यक्रम संयोजक गणेश नाथ योगीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटी प्रमुख अतिथि तथा उपाध्यक्ष धनादेवी थापा विशिष्ट अतिथिको रूपमा सहभागी भएका थिए। साथै प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्री, प्रहरी निरीक्षक किशोर जोशी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, सुरक्षाकर्मी, पत्रकार र स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगिताको निर्णायक मण्डलमा गायक ध्वज बहादुर महरा, सौगात ओझा र गायिका धन्सरा साउद रहेका थिए भने कार्यक्रम सञ्चालन नरेश नाथ योगी र गणेश बिष्टले गरेका थिए। प्रतिस्पर्धामा विनोद सुनार प्रथम, हिमानी थापा मगर द्वितीय, एन्जल सुर्जा मगर तृतीय, भवानी चौथो र प्रतीज्ञा कडेल पाँचौँ स्थान हासिल गर्न सफल भए।
कार्यक्रमले चुरे क्षेत्रमा लुकेका प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्याउने सम्भावना देखाउँदै सांगीतिक वातावरणलाई थप जीवन्त बनाएको छ।















