कैलाली जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी विद्यार्थीमध्ये ४० प्रतिशतले ग्रेडेड (उत्तीर्ण) भएका छन्। शिक्षा तथा समन्वय इकाई कैलालीका अनुसार, जिल्लाका १८ हजार ७५१ परीक्षार्थीमध्ये ७ हजार ५२३ जना ग्रेडेड भएका हुन्।
यसपटक जिल्लाबाट ७ जना विद्यार्थीले ४.० जीपीए हासिल गरेका छन्। तीमध्ये १ जना सामुदायिक विद्यालयका र ६ जना निजी विद्यालयका विद्यार्थी रहेका छन्।
सामुदायिकतर्फ त्रिभुवन माध्यमिक विद्यालय, बोराडाँडी (धनगढी–३) का अशोक अवस्थीले उत्कृष्टता हासिल गरेका छन्। निजी विद्यालयतर्फ ४ जीपीए ल्याउने विद्यार्थीहरूमा एरिस्टो बोर्डिङ स्कुल (धनगढी–८) का गौरव उपाध्याय र प्रदीप गिरी, जेसीज एभरेस्ट स्कुलका जस्टिन चन्द, टीकापुर युनाइटेड एकेडेमीका निखिल लोहार, गणेश बाबा इङ्ग्लिस बोर्डिङ स्कुलका भुवन उपाध्याय र घोडाघोडीस्थित पायोनियर्स एकेडेमीकी रक्षा बुढा रहेका छन्।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार, देशभर ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। नियमिततर्फ ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये २ लाख ७१ हजार २९९ जनाले ग्रेडेड प्राप्त गरेका हुन्।
गत वर्षको तुलनामा यस वर्ष उत्तीर्ण दरमा उल्लेखनीय सुधार देखिएको छ। अघिल्लो वर्ष ४७.८७ प्रतिशत विद्यार्थी मात्रै ग्रेडेड भएका थिए, जुन अनुपात यो वर्ष १३.९४ प्रतिशतले वृद्धि भएको हो।
सुदूरपश्चिम प्रदेशका सन्दर्भमा पनि यसपटक नतिजा उत्साहजनक देखिएको छ। ५९ हजार ८०४ परीक्षार्थीमध्ये ५५ प्रतिशत अर्थात् ३२ हजार ९३० विद्यार्थी ग्रेडेड भएका छन्। बाँकी २६ हजार ८७४ विद्यार्थी ननग्रेडेड रहेका छन्।
ननग्रेड विद्यार्थीलाई लक्षित गर्दै राष्ट्रिय परीक्षा बोर्डले साउन २९ देखि मौका परीक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको छ।
गत वर्ष सुदूरपश्चिम प्रदेशबाट सहभागी ५३ हजार ४४६ विद्यार्थीमध्ये मात्र ३१.८८ प्रतिशतले ग्रेडेड प्राप्त गरेका थिए। त्यतिबेला ३६ हजार ४१० विद्यार्थी ननग्रेडेड भएका थिए।












