चुरे गाउँपालिका र ‘ डिआडि मिसन टु नेपाल ’ संस्थाको प्राविधिक तथा लागत साझेदारीमा शारीरिक अपांगता भएका नागरिकलाई सहायक सामग्री वितरण गरिएको छ। गाउँपालिकाका सबै वडामा पहिचान गरिएका ३६ जना अपांगता भएका नागरिकलाई पाँच प्रकारका सहायक प्रविधि सामग्री हस्तान्तरण गरिएको हो।
कार्यक्रमलाई सहजपुर, खानिडाँडा र गर्भादरबार गरी तीनवटा क्लस्टरमा विभाजन गरी सञ्चालन गरिएको थियो। वितरण कार्यक्रमको अध्यक्षता संस्था ‘डिड मिसन टु निओल’ का प्रबन्ध निर्देशक तथा अपांगता अभियानकर्मी नन्दराज भट्टले गरेका थिए भने उद्घाटन चुरे गाउँपालिकाका उपाध्यक्ष धना थापाले गर्नु भएको थियो।
कार्यक्रममा वडा अध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, सामाजिक अभियन्ता लगायत ६० जनाको उपस्थिति थियो। उपाध्यक्ष थापाले अपांगता भएका व्यक्तिहरूको दैनिक आवागमन सहज बनाउने उद्देश्यले पालिकाले सहायक उपकरण वितरण गरेको बताइन्।
उनले अपांगता भएका नागरिकप्रतिको जिम्मेवारीलाई संस्थागत रूपमा सम्बोधन गर्न पालिकाले आगामी नीति तथा कार्यक्रम र बजेटमा पनि यस्ता मानवीय विकासका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।
प्रबन्ध निर्देशक भट्टले अपांगता भएका नागरिकलाई आवश्यक सहयोग प्रदान गर्दै उनीहरूको आत्मनिर्भरता र सामाजिक सहभागिता अभिवृद्धि गर्न संस्थाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए।
















