लोड हुदैछ

Type to search

आर्थिक आहार विहार जानकारी रोचक समाचार

किवी फल सम्बन्धि जानकारी

loading...

नेपाल र नेपालीलाई समृद्ध बनाउन कृषिमा व्यवसायिकरण आवश्यक छ । कृषिबाट नेपाललाई समृद्ध बनाउने चिन्तन् धेरै भएका छन् । तथापि त्यो अझै पर्याप्त छैन । चिन्तनसँगै मनन् र अभ्यास जरुरी छ । व्यवसायिक कृषिका लागि जति गर्नु पर्ने हो, त्यति सरकारबाट हुन सकेको छैन । पर्याप्त सरकारी सहयोग नभएरै धेरै नेपाली किसान र कृषि विशेषज्ञहरुले देशलाई समृद्ध बनाउन सफल प्रयास गर्दै आएका छन् । चिया, अलैँची, कफि, तरकारी खेती, अम्रिसो, सुन्तला, जुनार, अनारमा किसानहरु आफ्नै प्रयासबाट दिनदिनै सफल भइरहेका छन् । धेरै किसानको जीवन स्तर यसले माथि पुर्‍याएको छ । यो लहरमा किवी (ठेकीफल) थपिन आइपुगेछ । किवी अबको केही वर्षमा धेरै नेपालीको जीवन परिवर्तन गर्ने माध्यम बन्नेछ । नेपाललाई समृद्ध बनाउने फलका रुपमा किवीलाई हेर्न थालिएको छ । असिमित बजार र उपयुक्त हावापानी भएकाले नेपालमा किवी खेतीको प्रचुर सम्भावना छ ।

किवीको परिचय : किवी पहिलो पटक नेपालमा अमेरिकी वैज्ञानिक नेथानियल वालिचले सन् १८२१ मा पत्ता लगाएका थिए । तर कतिपयले किवी (Actonidia deliciosa) जापानी रैथाने फल भन्ने गरेका छन् । खासमा चीनको याङत्जे उपत्याका किवीको पितृभूमि हो । यो ठूलो झाङ हुने लहरा प्रजातिको काठयुक्त काण्डसहितको पतझड विरुवा हो । वास्तवमा नेपालको पहाडी जंगलमा पाइने ठेकी फल नै किवी हो । किवी चराले नेपाल लगायत विश्वका अन्य मुलुकमा यसलाई पुर्‍याएको मानिन्छ । चीनबाट विउ लगेर सर्वप्रथम सनु १९०६ मा पहिलो पटक न्यूजील्याण्डमा किवी नर्सरीमा उमारिएको थियो । विऊबाट उमारिएको विरुवाले सन् १९१० पहिलो पटक फल दियो । यसको व्यवसायिक खेती न्यूजील्याण्डमा सन् १९४० बाट शुरु गरिएको थियो भने सन् १९७० सम्ममा त्यहाँ ९०० एकर क्षेत्रमा यसको खेती भइसकेको थियो । सन् १९६० पछि अमेरिकाको क्यालिफोर्नियामा किवीको व्यवसायिक खेती शुरु भयो । सन् १९७४ देखि किवीफ्रुटले अन्तराष्ट्रिय पहिचान पायो । सबैभन्दा बढी व्यवसायिक खेती भएको न्यूजील्याण्डबाट भारतमा वार्षिक २ अर्ब अमेरिकी डलरको किवी निर्यात गरिन्छ । स्वादिलो र औषधीय गुणका कारण किवीको माग र मूल्य उच्च रहेको छ । नेपाली बजारमा प्रतिकिलो रु.५०० भन्दा बढी पर्दछ । नेपालमा रैथानी किवी पाइएपनि खेती गरिएको एक्जोटिक प्रजाति हो । नेपालमा कहिले एक्जोटिक किवी भित्रियो एकीन छैन । केहीले सन् १९८१ मा पहिलो पटक एक्जोटिक किवी नेपाल भित्रिएको उल्लेख गरेका छन् । देशभर विस्तार हुने क्रममा रहेको किवी अहिले काभ्रे, सिन्धुपाल्चोक, दोलखा, इलाम, मकवानपुर, नुवाकोट, ताप्लेजुङ, रामेछाप लगायका जिल्लामा व्यवसायिक खेती शुरु भएको छ । अहिले नेपालमा किवीको विरुवाको माग बार्षिक २५ देखि ३० हजारसम्म रहेको छ । रोपेको ५ देखि ७ वर्षमा किवी फल्न थाल्दछ । यसले लगातार ५० वर्षसम्म फल दिन्छ ।

उत्पादन हुने हावापानी : किवीको व्यवसायिक खेतीका लागि उयुक्त हावापानी समुद्र सतहबाट १००० देखि २००० मिटरसम्मको उचाइ हो । तथापि उचित सिँचाइ र स्याहार-सुसार पुगे समुद्री सतहबाट ८०० देखि २९०० मिटरसम्म यसको खेती गर्न सकिने विज्ञहरु बताउँछन् । प्राकृतिक रुपमा १६०० देखि २५०० मिटरसम्मको नेपालको पहाडी जंगलमा किवी पाइन्छ । हिउँद र सुक्खा गर्मी मौसममा किवीलाई सिँचाइको आवश्यक व्यवस्था गर्नु पर्दछ । माइनस २ डिग्रीसेन्टीग्रेड वा १० डिग्री फरेनहाइट भन्दा कम तापक्रम किवीले सहन सक्दैन । ५ देखि ६.८ पि.एच. भएको माटो किवीका लागि उपयुक्त मानिन्छ । एक बोट किवीलाई प्रतिवर्ष ५० के.जी. प्राङ्गरिक मल आवश्यक पर्दछ । विरुवा रोप्दाको दुरी (स्पेसिङ) ६ मिटर × ६ मिटर हुनु पर्दछ । प्रतिरोपनी १३ देखि १५ विरुवा रोप्नु राम्रो हुन्छ । कतिपयले प्रति रोपनी ५० बोटसम्म भनेका छन् । कम्तिमा एक बोट किवीलाई २०० वर्गफिट जमिन आवश्यक पर्दछ । उपोष्ण हावापानीमा हुने किवीफ्रुटले १० डिग्री फरेनहाइट भन्दा कम तापक्रम सहन सक्दैन । Actonidia arguta भन्दा Actonidia deliciosa ले चिसो सहन सक्छ । उपयुक्त हावापानी भएको अवस्थमा २२० दिनमा किवी परिवक्व भएर पाक्दछ । Actonidia arguta जातको किवी अगष्टबाटैे अमेरिकाको साउथइस्टर्न क्यारोलाइनामा पाक्ने गरेको छ । नेपाली जंगलमा पाइने किवी कार्तिक–मंसिरमा पाक्ने गर्दछ । मार्च अन्तिमबाट पाउला पलाउने किवी मध्य मेमा फुल फुल्दछ । पोथी र भाले छुट्टाछुट्टै बोट हुन भएकोले दुबै खालको किवी रोप्नु पर्दछ । १० बोट पोथी बराबर १ बोट भाले आवश्यक पर्दछ । उत्पादन र बजार : किवीको पाक्ने समय सेप्टेम्बर र अक्टोबर हो । आलिसन र हे– टोमरी जातको किवी नेपालमा बढी लगाइएको छ । रोपेको ५ वर्षदेखि फल्ने किवीले लगातार ५० वर्षसम्म उत्पादन दिन्छ । एउट परिपक्व किवीको बोटले १०० देखि १५० केजीसम्म फल्छ । प्रतिबोटमा १०० केजीसम्म फल्ने नेपाली अनुभव छ । प्रतिबोट सामान्यतः रु.१५०००/- भन्दा बढी आम्दानी हुने नेपाली किसानहरु बताउँछन् । नेपालको पाँच लाख हेक्टर पहाडी जमिनमा किवी खेती गर्ने हो भने वार्षिक रु. ५ अर्बको निर्यात गर्न सकिने विज्ञहरुको दावी छ । नेपालको १० लाख हेक्टर जमिन किवी खेतीका लागि उपयुक्त रहेको विशेषज्ञहरु बताउँछन् । प्राकृतिक रुपमा नेपाली जंगलमा पाइने भएकाले किवी खेती गर्न माटो परीक्षण आवश्यक पर्दैन । नेपालका दोलखा, काभ्रे, इलाम, सिन्धुपाल्चोक, मकवानपुर, ललितपुर, नुवाकोट, स्याङ्जा, ताप्लेजुङ आदि जिल्लामा किवीको व्यवसायिक खेती गरिएको छ ।

रोप्ने समय : नर्सरीमा तयार गरिएको विरुवालाई पुष माघमा रोप्ने गरिएको छ । सामान्यतः रोपेको विरुवालाई तुसारोले भेट्नु हुन्न । कम्तिमा १ घनफिट गहिरो खाल्डोमा राम्रो कम्पोष्ट मल राखेर विरुवा लगाउनु पर्दछ । विऊ र कटिङ दुबै तरिकाले यसको वेर्ना उत्पादन गरिन्छ । विऊबाट तयार वेर्ना बैशाख-जेठमा रोप्नु उपयुक्त हुन्छ । रोप्दा विरुवा बीचको स्पेसिङ ६ मिटर × ६ मिटर लाई उपयुक्त मानिन्छ । कम्तिमा ३ फिट उचाइ भएसम्म सिंगल टुप्पो हुने गरी कटनी गर्नु पर्दछ । त्यसपछि थाक्रोमाल लगाएर झ्याँगिन दिनु पर्दछ । समय समयमा आवश्यक गोडमेल, सिँचाइ, मल आदि आवश्यक हुन्छ । किवीमा खास रोग-किरा अहिलेसम्म देखा परेको छैन । खेती गर्न इन्छुक किसानले तालिम लिन आवश्यक हुन्छ ।

उपयोग तथा औषधीय गुण : फलको राजा किवीलाई यार्सागुम्बा र ग्यानोडार्मा च्याउ जतिकै औषधीय गुणयुक्त मानिन्छ । किवीलाई शक्तिबर्धक र क्यान्सरको औषधि मानिन्छ । किवीबाट रक्सी, ब्राण्डी, वाइन, जेली, वियर, जुस, जाम आदि बनाउन सकिन्छ । किवीसँगै भित्रीबालीका रुपमा अदुवा, बेसार, कुरिलो, केरा, चिराइतो, सतुवा आदिको खेती गर्न सकिन्छ । पूर्वी नेपालमा अलैँचीलाई रोग लागेको बेला किवी खेती उत्तम दीर्घकालिन विकल्प हुने देखिन्छ । नेपालमा किवी खेतीका लागि प्राकृतिक रुपले उपयुक्त हावापानी छ । अब छलफल गरी रहनु पर्दैन । नेपालको मुहार फेर्न सक्ने कृषि-फलफुलमध्ये किवी एक हो । यसको व्यवसायिक खेतीका लागि किसानलाई सरकार र गैह्रसरकारी संस्थाहरुले आवश्यक सहयोग गर्नु पर्दछ । थोरै जमिन हुने गरिब किसानले किवी खेतीबाट बार्षिक लाखौं कमाउन सक्षम हुन्छ । प्रतिवोट बार्षिक रु.१५००० आम्दानी हुने नेपाली किसानको अनुभवलाई आधार मान्दा ५ रोपनीबाट १० लाख कमाउन सकिन्छ । यो भनेको नेपाली अर्थतन्त्रमा कायापलट हुनु हो । सरकारले आवश्यक प्रविधि, सिप, कर्जा र बजारको प्रवन्ध गर्ने हो भने पक्कै त्यो दिन टाढा छैन । ( एजेन्सी )

Leave a Comment

Your email address will not be published. Required fields are marked *