लोड हुदैछ

Type to search

समाचार

आत्मरक्षाका लागी कञ्चनपुरमा गोली चलाइयो : प्रहरी प्रवक्ता

काठमाडौं : प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले कञ्चनपुरमा प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको बताएका छन्। शुक्रबार साँझ आक्रोशित भिडले अचानक एकसाथ ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रशासन, ट्राफिक प्रहरीको सवारी साधन, टिकट काउन्टरमा तोडफोड सुरु गरेपछि दुःखद् घटना भएको हो।

loading...

स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा केही सेल अश्रुग्यास प्रहार गरेको थियो। तर, आक्रोशित भिड प्रहरीमाथि जाइलागेपछि हवाई फायर गर्नुपरेको उनको भनाइ छ।

‘आकस्मिक रुपमा स्थिति प्रहरी नियन्त्रणभन्दा बाहिर गएपछि हवाई फायर भएको हो’, कञ्चनपुर घटनाप्रति दुःख व्यक्त गर्दै प्रवक्ता थापाले भने, ‘प्रहरीले आत्मरक्षाका लागि हवाई फायर गर्दा एक किशोरको ज्यान गएको हो।’

शुक्रबार साँझको प्रदर्शन हिंसात्मक बनेपछि कञ्चनपुरमा साँझ ८ बजेबाट फेरि अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ। महेन्द्रनगर बजार आसपासका क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको हो।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि कञ्चनपुरमा चार दिनयता तनाव बढेको हो। शुक्रबार साँझ भएको झडपमा प्रहरीको गोली लागेर भीमदत्त नगरपालिका-१८ भगतपुर बस्ने १७ वर्षीय सन्नी खुनारको मृत्यु भएको छ।

झडपमा अन्य २४ जना घाइते छन्। प्रहरीको गोली लागेर घाइते भएका सातजनालाई महाकाली अञ्चल अस्पतालले उपचारका लागि विभिन्न अस्पतालमा रिफर गरेको छ। अन्य घाइतेको भने स्थानीय अस्पतालमा उपचार भइराखेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *