
काठमाडौं: एकदिवसीय सिरिजको तेस्रो तथा निर्णायक खेलमा यूएईले नेपाललाई १ सय ७७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको मौका पाएको यूएईले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७६ रन बनायो।
उसका लागि आयान अफजल खानले अर्धशतकीय पारी खेले। उनले ६३ बलमा ७ चौका र १ छक्काको मद्दतमा नटआउट ५४ रनको योगदान दिए। यो उनको पहिलो एकदिवसीय अर्धशतक हो। हजरत बिलालले अविजित २० रन बनाए। १०औँ विकेटका लागि आयान र बिलालले अविजित ८३ रनको कीर्तिमानी साझेदारी गरे।
यूएईका लागि १०औँ विकेटका लागि भएको यो सर्वाधिक ठूलो साझेदारी हो। यस्तै, अलिशान शराफुले ३३, रोहन मुस्तफाले २४ र मोहम्मद वसीमले ११ रन जोडे। बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। यूएईका ३ खेलाडी वृत्य अरविन्द, अहमद राजा र जहुर खान शून्य रनमा आउट भए।

नेपालका लागि गुल्शन झा, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए। गुल्शनले ७ ओभरमा ४२ रन खर्चिए। कुशलले ७ ओभरमा १ मेडनका साथ ३२ रन खर्चिए। दीपेन्द्रले १० ओभरमा ३ मेडनसहित २२ रन मात्र दिए। सोमपाल कामीले ९ ओभरमा २ मेडनसहित ३३ रन खर्चिएर १ विकेट लिए। ललितनारायण राजवंशीले १० ओभरमा २ मेडनका साथ २० रन दिँदै १ विकेट लिए।
नेपाल र युएईबीचको यस खेल सिरिजको निर्णायक खेलको रुपमा रहेको छ । किनकि तीन खेलको सिरिज १-१ को बराबरीमा रहेको छ ।सिरिजको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो। तर, दोस्रो खेलमा नेपालले ३ विकेटको जित हासिल गरेको थियो । यस्तोमा अन्तिम खेलमा दुबै टोली जित निकाल्दै सिरिज आफ्नो बनाउने योजनामा रहेका छन् ।
नेपाल आजको खेल जित्दै सिरिज २-१ ले जितेर इतिहास कायम गर्न चाहन्छ । नेपालले यस सिरिज जितेमा घरेलु भुमिमा नेपालले पहिलो पटक दुई देशीय सिरिज जित्ने छ । पपुवा न्यू गिनीसँग नेपालले यसै वर्ष पहिलो एकदिवसीय सिरिज घरेलु भुमिमा खेलेको थियो । दुई खेलको उक्त सिरिज नेपालले २-० ले हारेको थियो।
यूएई पनि नेपाललाई घरेलु मैदानमा पराजित गरि सिरिज जित्न चाहान्छ। २०१९ मा नेपालले यूएईलाई उसकै घरेलु भुमिमा पराजित गरि तीन खेलको सिरिज २-१ ले जितेको थियो । नेपाल र युएईबीचको यस खेल नवौं खेल हो । हालसम्म खेलिएको ८ खेलमा युएईले ५ पटक जितेको छ । नेपालले तीन पटक आफ्नो बनाएको छ । नेपालले प्लेइङ-११ मा एक खेलाडी परिवर्तन गरेको छ। करण केसीको ठाउँमा हरिशंकर शाहलाई खेलाएको छ।