लोड हुदैछ

Type to search

विश्व

विश्वकपमा नेपाली र अर्जेन्टिनाको भ्रम : पुरा पढ्नुहोस

अन्तर्राष्ट्रिय फुटबल महासंघको आयोजनामा जुन १४ तारिख बिहीबारदेखि रसियामा २०१८ को विश्वकप खेल सुरू हुँदैछ।

loading...

संसारभरिबाट छानिएर आएका ३२ राष्ट्रले फुटबल खेलको सबैभन्दा ठूलो महासंग्राममा भाग लिँदै छन्। संसारमा सबैभन्दा बढी हेरिने खेल फुटबल नै हो र यसपालिको विश्वकप पनि सयौं मिलियन दर्शकले हेर्ने अपेक्षा गरिएको आयोजकले बताएका छन्। फुटबल यस्तो खेल हो यसलाई मनपराउने, हेर्ने र चासो लिनेको उमेरमा कुनै हद छैन। के बुढा, के जवान, के बच्चा, सबैका बिच त्यत्तिकै लोकप्रिय छ फुटबल खेल।

विगतका वर्षहरू जस्तै यसपालिको विश्व कपको चर्चा महिनौं अघि देखिनै सुरू भएको हो। खेल हुने दिन जति नजिकिँदै गयो सामाजिक सञ्जालमा फुटबलका फ्यान हरूले आफूलाई मनपर्ने देशको समर्थनमा लेख्न थाले।

खास गरी संसारभरिनै अर्जेन्टिना, ब्राजिल, जर्मनी, इंल्याण्ड, फ्रान्स, स्पेन, पोर्चुगलका फ्यान फलोअर्स धेरै छन् भन्ने मानिन्छ। नेपालमा पनि यिनै देशका टिमहरूलाई मनपराउने समर्थकहरू धेरै रहेका छन्।

त्यसो त विश्वकपमा भागलिने सबै देशहरूका टिमलाई मनपराउनेहरूको संख्याको कमी छैन।

विश्वका ठूला र चर्चित क्लवहरूसमेत यिनै देशहरूका खेलाडीको वर्चस्व रहेको छ, प्रायजसो खेलप्रेमी समर्थकहरू आफूलाई मनपर्ने क्लबमा खेल्ने खेलाडी पच्छाउँदै विश्वकपका टिमलाई समर्थन गर्छन्। यतिखेर विश्वकप, आफूलाई मनपर्ने देशको टिमलाई समर्थन गरेका भनाइहरू, खेलाडीका फोटो, भिडियो र ती देशका झण्डाहरूले सामाजिक सञ्जाल रंगिएका छन्, जुन कुरा स्वाभाविक हो। जसले खेल प्रेमीहरूलाई थप उत्साहित र रोमान्चित बनाउँछ।

नेपालमा पनि येतिखेर विश्वकपको रन्को निकै बढेको छ र सामाजिक सञ्जालमा आफ्नो समर्थन जिताउने होड नै चलेको छ। तर, जतिखेर विश्वकपको चर्चा सुरूहुन्छ त्यतिखेर नेपालमा र नेपालबाहिर रहेका केही साथीभाइले अर्जेन्टिना र नेपालको सम्बन्धका बारेमा तथ्यहीन र भ्रामक कुरा सामाजिक सञ्जालमा लेखेर अर्जेन्टिनाका फ्यानलाई चोट पुर्‍याउने काम हुन्छ, जुन कुरा अहिले पनि सुरू भएको छ।

यो छोटो आलेख पनि त्यही कुरामा केन्द्रीत गर्न चाहन्छु।

ती सथीभाइले फल्कल्याण्ड टापुमा भएको युद्वलाई स्मरण गर्दै, अर्जेन्टिनाले नेपाललाई शत्रुको दृष्टिले हेर्ने, नेपालीलाई भिसा नदिनेजस्ता तर्क गर्छन्, जुनकुरा सरासर झुट हो।

के हो फल्कल्याण्ड को लडाई :

सन् १८३१ देखि ब्रिटिस अधिनमा रहेको फल्कल्याण्ड टापुमा आफूले फिर्ता पाउनुपर्ने दाबीसहित अर्जेन्टिनाले सैनिक हमला गरेपछि सन् १९८२ को अप्रिलमा बेलायतले पनि आफ्नो सैनिक कारबाही सुरू गरेको थियो। दुई महिना १४ दिनको लडाई पश्चात् ब्रिटिसहरू समक्ष अर्जेन्टिना आत्मसमर्पण गर्न बाध्य भएको थियो। त्यो लडाइमा २५५ जना ब्रिटिस सैनिक र ६४९ जना अर्जेन्टिनाका सैनिक मारिएका थिए। बेलायतले आफ्नो एउटा सैनिक टुकुडी जो ‘गुर्खा रेजिमेन्ट’ का नामले चर्चित छ, लाई युद्वमा खटाएको थियो। ती सबै बेलायती सरकारका सैनिक थिए। न त्यहाँ नेपालको संलग्नता थियो, न समर्थन वा विरोध। लडाई हारेको अर्जेन्टिनाले त्यतिखेर बेलायत र बेलायती सैनिकका बारेमा तितो पोख्नु स्वभाभिक नै हो। अर्जेन्टिना र बेलायतबीच लडाइले बिग्रेको सम्बन्ध सन् १९८९ पछि पुनः सुरू भयो र आज दुवै देशमा एकअर्काका राजदूतावास रहेका छन्।

बरू हामीले हेर्नुपर्ने कुरा के हो भने विश्व युद्वदेखि बेलायतका लागि लड्दै आएका गुर्खाहरुका लागि बेलायतले के गर्‍यो? उनीहरूको पेन्सन सुविधामा बेलायतले गरेको ठूलो पक्षपातको चर्चा अझै सेलाएको छैन।

फल्कल्याण्डको युद्वका बारेमा १५ वर्ष अध्ययन गरेका अध्यता फर्नान्डो मिन्गो भन्छन्- ‘धेरै अर्जेन्टिनीलाई गुर्खा रेजिमेन्ट लडाइमा खटाइएका थिए भनेर थाहा पनि छैन।’ त्यस्तै लुइस एम गोन्जालेज़ भन्छन्,‘म अर्जेन्टिनी नागरिक हुँ, र म यो हिम्मतका साथ भन्छु धेरै जना र खास गरी जो युद्वपछि जन्मिए तिनीहरूलाई गुर्खा को थिए र कहाँबाट आएका थिए भन्ने थाहा पनि छैन।’

यदि साच्चिकै अर्जेन्टिनीहरू नेपालप्रति आज पनि हेयको भाव राख्थे भने देशकै प्रतिनिधित्व गर्ने स्टार खेलाडी लियोनल मेसीले गएको महाभूकम्प पछि नेपालमा युनिसेफ मार्फत आफ्नो व्यक्तिगत खर्चमा ​१४​ ​वटा स्वास्थ्य चौकीको निर्माण गर्ने थिएनन्। जुनकुरा मेसीले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेका छन्।

नेपाल र अर्जेन्टिनाको सम्बन्ध:

नेपाल र अर्जेन्टिनाबीच सन् १९६२ जनवरी १ तारिखमा कूटनीतिक सम्बन्ध कायम भएको थियो जुन आजसम्म निरन्तर छ। सम्बन्धको आधार सदभाब, मैत्री एवम् आपसी समझदारीमा आधारित रहेको नेपालको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ।

तर नेपाल र अर्जेन्टिनाका दूतावासहरू एक अर्काका देशमा छैनन्, त्यसैले अर्जेन्टिनाको भिसा चाहिएमा दिल्ली जानुपर्छ। थुप्रै नेपालीहरू खास गरी सरकारी अधिकारीहरू विभिन्न कार्यक्रममा अर्जेन्टिना जाने गरेका छन्।

अन्त्यमा, खासमा खेल, कला, सङ्गीतको कुनै सीमा वा भाषा हुँदैन, तपाईँ जुन भाषामा जसरी बुझ्नुहुन्छ, त्यसरी नै मजा लिनुस्, रोमान्चित हुनुहोस्। ‘कागले कान लग्यो भनेर कागका पछाडि दगुर्नुभन्दा पहिले कान छाम्नुस्’, भन्ने नेपाली उखानलाई सधैँ ध्यानमा राख्नुहोस्।

फुटबल प्रेमी सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई विश्वकपको शुभकाना।

Leave a Comment

Your email address will not be published. Required fields are marked *